३१ बैशाख २०८१, सोमबार ११:३८ | 05/13/2024 1:53 AM
एनआरएन अमेरिकाको सदस्यता बन्ने म्याद औपचारिकरुपमै आज राती १२:०० बजे (अमेरिकी प्यासेफिक समय) समाप्त हुँदैछ| पछिल्लो अनौपचारिक जानकारी अनुसार अहिलेसम्ममा करिब सात हजार भन्दा बढी प्रवासी नेपालीहरुको आवेदन प्राप्त भएको छ| यो अत्यन्त सकारात्मक संकेत हो हामी निरन्तर फैलँदो, बढ्दो र तन्कँदो छौं|
एनआरएन अमेरिका दुलोबाट चौरसम्म निस्किएको छ या भनौं हामी सबै मिलेर निकालेका छौं| यसको अझै स्थायी कार्यालय छैन सदस्यता वितरण र बृध्दि गर्ने अभिप्रायले अहिले ज्याक्सन हाईट्सको कसैको निजि अफिसलाई अस्थायीरुपले शनिबार र आईतबार खोल्ने गरि एउटा कुनो लिईएको छ, जहाँबाट सदस्यता वितरण हुन्छ| हाम्रो यथार्थ वर्तमानमा यत्ति हों तर कुरो हामी चर्को गर्छौं|
तर दुनियाले हामीलाई यति निरिह भनेर बुझ्दैन किनकी हामीले अमेरिकी शैलीको “हेजेमोनिक”आडम्बर बोल्ने गरेका छौं| अमेरिकी शैलीको हेजेमोनी र सुप्रेमेसी हामीलाई मन पर्न थालेको छ| हामी आफुलाई धनी, ठुलो, बिशेष अनि महान भएको स्व-घोषणा गर्छौं जसरी अमेरिकाले संसारभर सुप्रिमेसीको दम्भ प्रदर्शन गर्छ तर उसलाई थाहा हुँदैन चीनको अर्थतन्त्र उसको भन्दा माथि पुगी सक्यो| हामी अमेरिकामा बसेर ठ्याक्कै अमेरिका जस्तै भएछौं|
अहिले प्रवासी नेपाली समाजमा दुई डरलाग्दा रोगहरु सतहमा देखा परेका छन् ति हुन सामाजिक आडम्बर र धार्मिक पाखण्ड| सपनाको देशमा आएर जीवनको लामो कालखण्ड बिताएर बैभवशाली भएको स्व-घोषणा गर्ने केहि मान्छेहरु यो दम्भबाट आक्रान्त छन्, उनीहरुमा भ्रम छ म संग पैसा छ त्यस कारण सबै कुरा सम्भब छ| अहिले यिनीहरुलाई ऎस्वर्य, धन, दौलत होइन शान, नाम, सामाजिक परिचय, प्रतिष्ठा अनि यश चाहिएको छ|
दशकौं आफ्नो प्रवास बसाईमा नेपाली समाजकालागि सिन्को नभाँचेकाहरु अहिले पारिलो घाममा न्यानो तापको अनुभूति गर्न जमिनमुनिबाट सतहमा निस्किने छिचिमिराहरुजस्तै यिनीहरु आफ्ना निर्वल प्वाँखहरु फैल्याएर यत्रतत्र उडानमा लागेका छन|
यो समय भनेको यिनीहरुको नौटंकीलाई रमिते बनेर हेर्ने समय मात्र होइन सालीन र शभ्य शैलीमा यिनीहरुलाई सोध्ने समय पनि हों “हिजो यहि समाजमा दु:ख, कष्ट अनि सन्तापहरु आईपर्दा तिमी (हरु) कुन कुनो या दुलोमा थियौ?
प्रसंग जोडौं केन्द्रिय अध्यक्ष शेष घलेजीको नेपालमा बनाउने हाम्रो घरको लागि भएको फण्ड रेजिंग अमेरिकी यात्रा| उनको अमेरिका आगमनमा पनि हामीले अमेरिकी शैली र आडम्बरमा हामीलाई ठुलो, बिशेष र धनी देखाउन ठुलो समय खर्च गर्यौं| हिजो राती सम्प्रेषणमा शेष घलेजी संग भएको आत्मीय वार्तालाप हेरें उनि मन्द मुस्कानमा भन्दै थिए ” हेर्नुस यो अमेरिका भनेको त मैले सोंचेको भन्दा पनि बिशाल र व्यापक रहेछ” अनि उनि स-गर्ब भनिरहेका थिए “अमेरिकाबाट मात्र झन्डै चार करोड रुपैयाँ उठ्यो|” …बिचरा शेषजी.. यिनलाई के थाहा हामी कति पाखण्डी र आडम्बरी छौं!
अब जरो र खरो प्रश्न प्रवासी नेपाली समाज र सतहमा यसरी आउन थालेको छ: त्यो करिब चार करोड त बाचा गरिएको हों (अमेरिकामा प्लेज्ड गर्नु भन्छन क्यारे) अहिले बोलेकाहरुले कस्ले कति बुझाए त? अथवा अहिले केन्द्रलाई चाहिएको बेला हामी ठुलो कुरा गरेर पाँच तारे होटलमा शेष घलेसंग फोटो शेशन अर्दै हजारौं हजारको “प्लेज्ड” गरेका मध्य कति रकम एनआरएन अमेरिका या डी.आर.सी.ले केन्द्रमा बुझायौं त?
दान दातब्य भनेको खाई पाई उब्रिएको र आफुले सक्ने गरि मनबाट दिने मनको उपहार हों तर अहिले अमेरिकामा धार्मिकरुपले पाखण्डी र सामाजिकरुपले आडम्बरी मानिसकोलागि यो बिषय आत्मतुष्टि र दम्भ प्रदर्शन गर्ने मेलो भएको छ| त्यस्तो दुरुह र आडम्बरी दृश्य हामीले नेपाली मन्दिर बनाउने नाममा पनि लामो समय देखि हेर्दै आएका छौं| कुन धर्मले त्यसरी आफुले नसक्ने गरि आफुलाई अप्ठेरोमा पारेर दान गर भन्छ होला अनि किन हाम्रा मान्छेलाई त्यस्तो बोक्रे आडम्बर प्रदर्शन गर्नु परेको होला? म त्यस्तो भन्ने धर्महरु मात्र होइन यी मान्छेहरुलाई पनि बुझ्दिन(?)
अब एनआरएन अमेरिकाले केन्द्रबाट “क्लिन चिट” लिएर सार्वजनिक गर्नु पर्छ| यो हामी तमाम प्रवासी नेपालीहरुको इज्जत र प्रतिष्ठासंग जोडिएको सवाल हों| ज जसले जुन राज्यबाट जिम्मा लिएको हों अन्ततोगत्वा त्यो उनीहरुको जिम्मेवारी हों| शेष घले आउँदा आफुलाई ठुलो र धनी देखाएर मात्र पुग्दैन अब आम प्रवासीकालागि तपाईहरु निष्ठावान र इमान्दार पनि बन्न जरुरी छ| अमेरिकाले बोलकबोल गरेको त्यो करिब चार करोड मध्य कति रकम उठ्यो या केन्द्रमा पठाईयो र अब कबोल गरेकाहरु र प्रत्येक राज्यमा बोलेको रकम उठाउने जिम्मा लिएका साथीहरुहरुले कहिलेसममा एन.सी.सी. या आई.सी.सी. लाई बुझाउने हों त्यो अब संचार र आम मानिसलाई जानकारी गराउन आवश्यक छ|
अब सदस्यता वितरणको चटारो सकिए पछि भोलिबाटै यो गहन र अहम बिषयलाई एनआरएन अध्यक्ष खगेन्द्र क्षेत्री र डी.आर.सी. सोनाम लामाले सार्वजनिकरुपमा स्पष्ट पार्न जरुरी छ| आदरणीय सहकर्मी पत्रकार मित्रहरुलाई पनि यो बिषयमा तथ्यपरक विचार र विश्लेषणहरु सम्प्रेषण गर्नकोलागि बिनम्रतापुर्वक आग्रह गर्दछु| हामी संचारकर्मीहरुले धेरै अप्ठेराहरुको सामना गर्दै र पार गर्दै हामी सबैको यो सांझा संस्थालाई यहाँसम्म ल्याउनकालागि सहयोग गरेका छौं र अझै केहि काल हाम्रो निरन्तर पहरेदारी र निगरानीको आवश्यकता छ भन्ने मेरो निजि बुझाई छ|
प्रतिक्रिया